काठमाडौं । दक्षिण कोरियाको रोजगारीका लागि ईपीएस (रोजगार अनुमति प्रणाली) आवेदन खुलिएसँगै राहदानी विभागमा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि पासपोर्ट बनाउन र लिन आउने युवायुवतीहरूको लामो लाइन देखिएको छ।
बढ्दो भीडलाई व्यवस्थापन गर्न राहदानी विभागले सेवा समयसमेत विस्तार गरेको छ। आजदेखि विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्दै बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सेवा दिन थालेको हो। पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ।
विभागका अनुसार यो विशेष व्यवस्था साउन २२ गतेसम्म लागू रहनेछ। साथै शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा सञ्चालन गरिनेछ।
दक्षिण कोरियाको ईपीएस प्रक्रियाका लागि राहदानी अनिवार्य हुने भएकाले पछिल्लो केही दिनयता सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। अतिरिक्त समय र दुई सिफ्टमार्फत सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
ईपीएस आवेदनको समय नजिकिँदै जाँदा आगामी दिनमा राहदानी विभागमा सेवाग्राहीको चाप अझ बढ्न सक्ने अनुमान गरिएको छ।




































