काठमाडौं । लगातारको वर्षाले देशका विभिन्न क्षेत्रमा पहिरो र बाढीको जोखिम बढ्दै जाँदा पाँच प्रमुख राजमार्गका सात स्थानमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै देशका महत्वपूर्ण सडक सञ्जालमा आवागमन अवरुद्ध भएको जनाएको छ।

सबैभन्दा बढी असर कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, विपी राजमार्ग र अरनिको राजमार्गमा परेको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। यसअघि नै सम्भावित पहिरोको जोखिमका कारण उक्त सडकखण्डमा रातिको सवारी सञ्चालन रोकिँदै आएको थियो।

भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग प्रभावित बनेको छ। सडक अहिले एकतर्फी सञ्चालनमा रहे पनि वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

इलामको राजदुवाली क्षेत्रमा निरन्तर वर्षासँगै पहिरो झरेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। झापा–ताप्लेजुङ जोड्ने यो सडक लामो समयदेखि प्रभावित रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

यस्तै, काभ्रेको विपी राजमार्गमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण बेलुकीदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक कायम छ। उता अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको चारकिलो–तातोपानी र कोदारी क्षेत्रमा लगातार पहिरो खसेपछि दुवै सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्।

प्रहरीले अत्यावश्यकबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न, मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षासँगै सडक सञ्जालमा थप अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।