काठमाडौं । लगानी बोर्ड नेपालको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सिफारिस समितिले तीन जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद्मा पठाएसँगै अब अन्तिम निर्णय सरकारको हातमा पुगेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतलाई सिइओ पदका लागि सिफारिस गरेको हो। अब मन्त्रिपरिषद्ले यीमध्ये एक जनालाई आगामी चार वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ।
याङ्की उक्याब विकास अर्थशास्त्री हुन्। उनी यसअघि लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत थिइन्। मनोज पौडेल अर्थशास्त्रीका रूपमा लगानी बोर्डमा काम गरिसकेका छन् भने उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट उच्च शिक्षा हासिल गरेका छन्। उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत हुन्। अर्का सिफारिसमा परेका सुमनमानसिंह बस्नेत पनि अर्थशास्त्रीका रूपमा परिचित छन्।
सिइओ छनोटका लागि समितिले जेठ २९ गते आवेदन आह्वान गरेको थियो। आवेदन अवधि असार १८ गतेसम्म बढाइएपछि आठ जनाले आवेदन दिएका थिए। छोटो सूचीमा परेका उम्मेदवारहरूको साउन ७ र ८ गते प्रस्तुति र अन्तर्वार्ता लिएपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको हो।
कानुनअनुसार लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्य–सचिवसमेत हुने भएकाले यो पदलाई मुलुकमा ठूला स्वदेशी तथा विदेशी लगानी भित्र्याउने महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ।
यसअघि राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले लगानी बोर्डको सिइओको जिम्मेवारी सम्हालिसकेका छन्।





































