काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारमा जुटेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताएका हुन् ।
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री थापाले प्रदेश सरकारले आफ्नै ढंगले उद्धार तथा राहतको काम अघि बढाइरहेको जानकारी गराएका थिए । उनका अनुसार विपद्को समयमा कुन तहको सरकारले कुन काम गर्ने भन्ने स्पष्ट नहुँदा राहत तथा उद्धार व्यवस्थापनमा समस्या देखिएको छ ।उनले प्रभावित क्षेत्रमा पठाइएको राहतसमेत बट्टारसम्म पुगेर त्यसभन्दा माथि लैजान कठिन भएको जानकारी गराएका छन् । भौगोलिक अवस्था र सडक तथा पूर्वाधारमा पुगेको क्षतिका कारण प्रभावित बस्तीमा राहत पुर्याउन चुनौती देखिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री थापाले प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई पर्याप्त जानकारी नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । विपद्को समयमा सरकारका विभिन्न तहबीच सूचना आदानप्रदान र संयुक्त परिचालन प्रभावकारी हुन नसकेको उनको गुनासो थियो ।भेटमा जलवायु परिवर्तनका कारण आगामी दिनमा यस्ता जोखिम अझ बढ्न सक्ने विषयसमेत उठेको थियो । नदी तथा खोलाका किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले तत्कालै समन्वय गरेर दीर्घकालीन योजना बनाउनुपर्ने मुख्यमन्त्री थापाको धारणा थियो ।
जवाफमा रवि लामिछानेले विपद्को समयमा तीन तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताएका छन् । उनले प्रदेश सरकारले संघीय र स्थानीय सरकारबीच समन्वयकारी पुलको भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । लामिछानेले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफूले समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
भोटेकोशी बाढीपछि सडक, पुल र सञ्चार सम्पर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिन भइरहेको अवस्थामा मुख्यमन्त्री र लामिछानेबीचको छलफलले विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच देखिएको समन्वयको कमजोरीलाई सतहमा ल्याएको छ ।






































