नुवाकोट । रसुवा बाढीपछि नुवाकोटस्थित सुरुङमा फसेकाहरूको उद्धारमा थप प्राविधिक सहयोग आवश्यक परेपछि सरकारले चीन र भारतबाट विशेषज्ञ टोली बोलाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले स्वदेशी जनशक्तिबाट मात्रै उद्धार सम्भव नभएपछि मित्रराष्ट्रसँग सहयोग मागिएको बताएका छन् । आइतबार बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विदेशी प्राविधिक सहयोग लिइने जानकारी दिए ।
सुरुङभित्रको कठिन भौगोलिक अवस्था र उद्धारमा देखिएको प्राविधिक चुनौतीका कारण नेपाली उद्धार टोलीसँगै चिनियाँ र भारतीय विशेषज्ञ परिचालन गर्न लागिएको हो । सुरुङमा फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न आवश्यक प्रविधि र विशेषज्ञता प्रयोग गरिने सरकारले जनाएको छ ।
मन्त्री खनालका अनुसार उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धतासमेत आइरहेको छ । आवश्यकताका आधारमा अन्य मुलुकबाट पनि सहयोग लिन सरकार तयार रहेको उनले बताए ।
भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले सरकारका लागि तत्काल उद्धारसँगै प्राविधिक जनशक्ति र अत्याधुनिक उपकरणको व्यवस्थापन चुनौती बनेको छ । सुरुङ उद्धारमा विदेशी विशेषज्ञको सहयोग लिन थालिएसँगै फसेकाहरूलाई बाहिर निकाल्ने अभियान थप तीव्र हुने अपेक्षा गरिएको छ ।






































