काठमाडौं । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाललाई सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ तथा प्राविधिक टोली परिचालन भएका छन् । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको उद्धार र पहिचान नखुलेका शव व्यवस्थापनमा विदेशी विशेषज्ञको सहयोग लिइएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार सुरुङ उद्धारका लागि भारतबाट ११ जना र चीनबाट ९ जना विशेषज्ञ नेपाल आएका छन् । उनीहरूसँगै दक्षिण कोरियाका विशेष प्राविधिक टोलीले पनि नेपाली सुरक्षा तथा उद्धार निकायसँग समन्वय गरेर काम गरिरहेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी विशेषज्ञको सहयोग प्राविधिक आवश्यकताका आधारमा लिइएको जानकारी दिए । उनका अनुसार नेपाली सुरक्षा तथा सम्बन्धित निकायका एकीकृत टोलीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सम्हालिरहेका छन् ।
विदेशी सहयोग सुरुङ उद्धारमा मात्रै सीमित छैन । बाढीमा ज्यान गुमाएकाहरूको शव सुरक्षित राख्न एयरटाइट ब्यागसमेत भारत र चीनबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ । थप ब्याग आउने क्रममा छन् ।
यस्तै, पहिचान नखुलेका शवको वैज्ञानिक परीक्षण तथा पहिचानका लागि भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका १८ जना फोरेन्सिक विशेषज्ञको टोली नेपाल आइपुगेको छ । नेपाली पक्षसँग उनीहरूको समन्वयमा काम भइरहेको परराष्ट्र सचिव राईले बताए ।
बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता हुनुका साथै विभिन्न स्थानमा पहिचान नखुलेका शव भेटिने क्रम बढेपछि उद्धारसँगै शव पहिचान र व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा मित्रराष्ट्रबाट आएको प्राविधिक जनशक्ति र सामग्रीले खोज, उद्धार तथा मृतकको पहिचान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






































