काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि पुरिएको नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएसँगै त्यहाँ फसेका प्राविधिक तथा कर्मचारीको उद्धार प्रयासलाई थप तीव्रता दिइएको छ । लामो प्रयासपछि सुरुङको प्रवेश बिन्दु पहिचान भएपछि उद्धारमा संलग्न टोलीलाई भित्र रहेका व्यक्तिसम्म पुग्ने बाटो खुलेको हो ।
सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ८ मिटर तल तथा माथिल्लो अर्थात् अपस्ट्रिमतर्फ करिब ४० मिटर क्षेत्रमा सुरुङको मुख फेला परेको हो । यसअघि उद्धार टोलीले ड्रिलिङ तथा उत्खननमार्फत सुरुङको क्राउन पत्ता लगाउने प्रयास गरिरहेको थियो ।
बाढीले सुरुङको प्रवेश मार्ग लेदो, माटो तथा ढुंगाले पुरिएपछि उद्धार कार्य अत्यन्त कठिन बनेको थियो । अहिले नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले विभिन्न उपकरण प्रयोग गर्दै सुरुङभित्र प्रवेश गर्ने बाटो फराकिलो बनाउने काम गरिरहेको छ । उद्धारका लागि आवश्यक स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म ल्याएर खण्ड–खण्डमा छुट्याई हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने कामसमेत गरिएको छ ।
उद्धार कार्यमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । खोज तथा उद्धारका लागि तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको छ । कठिन भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार टोलीले निरन्तर काम गरिरहेको छ ।आयोजनाको भूमिगत विद्युत् गृहमा काम गरिरहेका ४६ जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फसेको विवरण प्राप्त भएको छ । उनीहरूमा सहायक प्रबन्धक विनोदप्रसाद पाण्डेदेखि इन्जिनियर दिलीप यादव, राजेन्द्र ढकाल, महेन्द्रविक्रम शाही, सहायक इन्जिनियर सन्तोषकुमार ठाकुर, इन्द्र अधिकारी, ओमप्रकाश चौधरीलगायत छन् ।
त्यस्तै सुपरभाइजरतर्फ खेमराज भट्टराई, विकास यादव, रमेशकुमार यादव, विष्णु भण्डारी, आइता तामाङ, सौगात यादव, कबीर महर्जन, जीवलाल अधिकारी, कीर्तिसिंह बिष्ट र नीरजबाबु रेग्मी रहेका छन् । फोरम्यानतर्फ हरिबहादुर बोगटी, रविना तुलसीबाख्यो, सञ्जय शाह, प्रमिला भण्डारी, रोबन पराजुली, सूर्यबहादुर केसी र तेजबहादुर जिरेल तथा फोरम्यान ड्राइभरमा खगेन्द्र मगरती रहेका छन् ।सुरुङभित्र फसेकाको विवरणमा इलेक्ट्रिसियन नारायणप्रसाद अर्याल, जुनियर मिस्त्री अमरकान्त चौधरी, देव गिरी, सुदीपकुमार श्रेष्ठ र जितेन्द्रकुमार गुप्ता पनि छन् । कार्यालय सहयोगी तथा हेल्परतर्फ अस्मिता लामा, शर्मिला अधिकारी, राजकुमार भट्टराई, कान्छी गुरुङ चौधरी, शान्तिमाया तामाङ र झपटबहादुर घर्ती तथा प्राविधिक सहयोगीतर्फ रामशरण न्यौपाने रहेका छन् । अस्मिता लामालाई स्विपर अर्थात् सरसफाइ कर्मचारीका रूपमा पनि विवरणमा उल्लेख गरिएको छ ।
यस्तै सुरक्षातर्फ हर्कबहादुर तामाङ, मिना शाही, टेकबहादुर तामाङ, रोशनी तामाङ, मिलन तामाङ र कमानसिंह तामाङ रहेका छन् ।सुरुङको मुख पत्ता लागेसँगै अब उद्धार टोलीको मुख्य प्राथमिकता भित्र फसेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्नु बनेको छ । यसका लागि ड्रिलिङ, उत्खनन, उपकरण परिचालन तथा आवश्यक प्राविधिक विधिबाट पहुँच मार्ग तयार पार्ने कामलाई तीव्रता दिइएको छ ।उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोलीसमेत परिचालन गरिएको छ । सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गर्दै उनीहरूसम्म छिटोभन्दा छिटो पुग्ने प्रयास भइरहेको छ । सुरुङको मुख भेटिनुलाई उद्धार अभियानमा महत्वपूर्ण प्रगतिको रूपमा लिइएको छ ।






































