काठमाडौं । भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायसँग अपिल गरिएको छ ।
संविधान सभा सदस्य परिषद् नेपालले आइतबार विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको हो ।
परिषद्का महासचिव दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा राजनीतिक दल, भ्रातृ संघ–संगठन, शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी व्यवसायी, वित्तीय संस्था तथा मित्रराष्ट्रसँग समेत प्रभावितको उद्धार र राहत अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो क्षति पुगेको परिषद्ले जनाएको छ । सयौँ नागरिकको ज्यान गएको, हजारौँ बेपत्ता तथा घाइते भएको र ठूलो संख्यामा परिवार विस्थापित भएको उल्लेख गर्दै परिषद्ले संकटको गम्भीरता बढ्दै गएको जनाएको छ ।
परिषद्ले तत्काल राहत वितरणमा मात्रै सीमित नभई विस्थापितका लागि सुरक्षित आवास, उचित क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेकाले आवश्यक स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिन सरकार तथा सम्बन्धित निकायले अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्ने परिषद्को जोड छ ।
यसैबीच परिषद्ले विपद् प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि संयमता र धैर्य अपनाउँदै आपसी सहयोगमा जुट्न आग्रह गरेको छ । संकटको समयमा नागरिक, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायबीचको समन्वयबाट मात्रै उद्धारदेखि पुनर्स्थापनासम्मको अभियान प्रभावकारी बनाउन सकिने परिषद्को भनाइ छ ।






































