काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि बिग्रिएको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय संयुक्त बैठक आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा बस्ने बैठकमा जिल्लाका राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजलाई एउटै टेबलमा ल्याएर साझा समाधान खोज्ने प्रयास गरिएको हो।

आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि, देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह र इनरुवाका पालिका प्रमुख–उपप्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा देवानगञ्जका स्थानीय राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्।

बैठकको मुख्य एजेन्डा जिल्लामा शान्ति–सुरक्षा पुनःस्थापना, सामाजिक तथा धार्मिक सद्भाव जोगाउने, पीडित पक्षलाई न्याय सुनिश्चित गर्ने र तनाव थप फैलिन नदिने विषय रहने जनाइएको छ।

साउन १० गते देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा भएको गोलीकाण्डमा एक जनाको मृत्यु र दर्जनभन्दा बढी व्यक्ति घाइते भएपछि सुनसरीको अवस्था तनावग्रस्त बनेको छ। त्यसयता प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै विभिन्न चरणमा संवाद र समन्वयका प्रयास अघि बढाइरहेको छ।

सरकार, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय समुदाय एउटै मञ्चमा बसेर समाधान खोज्न लागेका बेला यो बैठकलाई सुनसरीमा शान्ति र सामाजिक सद्भाव पुनःस्थापनाको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।