काठमाडौं / यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सको छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहरू हालै छपाइ सकिएर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको जानकारी दिएको हो । विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सहरू तयार पारिएको छ । प्राप्त विवरण अनुसार, साउन ७ गतेसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्डहरू हुलाकमार्फत देशभरका सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ ।
लामो समयको ढिलाइ र प्रतीक्षाका बाबजुद धैर्यता देखाएकोमा विभागले सेवाग्राहीहरूप्रति आभार समेत प्रकट गरेको छ ।यद्यपि, विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सहरू भने छपाइ नगरेको प्रस्ट पारेको छ । हाल नवीकरण गर्दा १० वर्ष अवधिको लाइसेन्स प्राप्त गर्न सकिने प्रावधान रहेकोले, एक वर्षभन्दा कम म्याद भएका सेवाग्राहीहरूलाई आफ्नै पायक पर्ने कार्यालयमा गई नवीकरण प्रक्रिया अघि बढाउन विभागले अनुरोध गरेको छ ।
लाइसेन्स प्रणालीलाई थप आधुनिक र झन्झटमुक्त बनाउन विभागले केही नयाँ सुधारहरू पनि ल्याएको छ । अब नयाँ लाइसेन्स र नवीकरणका लागि राष्ट्रिय परिचयपत्रमा भएको विवरण प्रयोग गरिने र राजस्व भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ । साथै, लाइसेन्समा भएका विवरणगत त्रुटिहरू अब सम्बन्धित कार्यालयबाटै तत्कालै सच्याउन सकिने प्रबन्ध मिलाइएको छ ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि भने द्रुत छपाइ र वितरणको विशेष व्यवस्था गरिएको विभागले जनाएको छ ।




































