काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका आक्रमणका घटनाले स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेपछि सरकारले अस्पतालहरूलाई कुनै पनि हालतमा उपचार सेवा बन्द नगर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले आन्दोलन वा असुरक्षाको कारण देखाएर बिरामीको उपचार रोकिन नहुने स्पष्ट पारेको हो।
मन्त्रालयका अनुसार पछिल्ला घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्यकर्मीमाथि हुने हिंसा सह्य नहुने भन्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक उपचारको व्यवस्था मिलाएकी छन्। साथै, सुरक्षा निकायलाई घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न निर्देशन दिएकी छन्।
मन्त्रालयले सुरक्षित कार्य वातावरण स्वास्थ्यकर्मीको आधारभूत अधिकार भएको उल्लेख गर्दै बिरामीको उपचारमा कुनै असर नपर्ने गरी सेवा नियमित सञ्चालन गर्न सबै अस्पताल र स्वास्थ्य संस्थासँग आग्रह गरेको छ।
सरकारको भनाइ छ-स्वास्थ्य संस्थामाथिको हिंसा रोक्नु र उपचार सेवा निरन्तर सञ्चालन गराउनु अहिलेको मुख्य प्राथमिकता हो।






































