सुर्खेत । कर्णाली प्रदेश सरकारको भविष्य निर्णायक मोडमा पुगेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकले कांग्रेससँगको राजनीतिक सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिएका छन्।

प्रदेशसभामा नेकपा र नेपाली कांग्रेसको संयुक्त रणनीतिले सरकार परिवर्तनको सम्भावना बलियो बनेको छ। यसअघि कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेकपाका १४–१४ सांसद छन् भने एमालेका १०, राप्रपाका १ र एक स्वतन्त्र सांसद रहेका छन्। आगामी मतदानले कर्णालीको सत्ता समीकरणको दिशा तय गर्नेछ।