स्याङ्जा । निर्वाचनअघि गरेको पुल निर्माणको वाचा पूरा नभएको भन्दै स्याङ्जा–१ का रास्वपा सांसद डा. धनञ्जय रेग्मीलाई आफ्नै मतदाताले पुल तर्न रोकेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा स्थानीयले पुल निर्माणको माग गर्दै सांसदको बाटो अवरुद्ध गरेका देखिन्छन्। सांसद रेग्मीले पनि स्थानीयको असन्तुष्टि जायज रहेको स्वीकार गरेका छन्।
उनका अनुसार सम्बन्धित क्षेत्रमा पुल निर्माणका लागि योजना प्रस्ताव गरिए पनि अन्तिम बजेटमा समावेश हुन सकेन। त्यसपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले फोनमार्फत उक्त पुल अर्को शीर्षकबाट अघि बढाइने र निर्माण सुनिश्चित गरिने जानकारी दिएको रेग्मीले बताएका छन्।
स्थानीयका अनुसार वर्षायाममा खहरे खोलाका कारण आवतजावतमा ठूलो समस्या हुने गरेको छ। पूर्वप्रतिबद्धता पूरा नभएपछि मतदाताले प्रत्यक्ष रूपमा सांसदसँग जवाफ मागेका हुन्।





































