धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नेकपा संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग औपचारिक छलफल अघि बढाउने निर्णय गरेको छ।
बिहीबार संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो। नेकपाले अहिलेको सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि नीतिगत वा महत्त्वपूर्ण निर्णय नगर्न चेतावनीसमेत दिएको छ। पार्टीले नयाँ सत्ता समीकरण निर्माणका लागि आवश्यक राजनीतिक संवाद तीव्र बनाउने जनाएको छ।
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो।अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोग मागे पनि नेकपाले वर्तमान अवस्थामा सरकारलाई साथ दिन नसकिने स्पष्ट पार्दै सत्ता परिवर्तनतर्फ कदम बढाएको छ।




































