काठमाडौं । पश्चिम नेपालमा लगातारको वर्षा अहिले प्राकृतिक विपद्को गम्भीर रूप लिएर देखिएको छ। गण्डकीदेखि सुदूरपश्चिमसम्म बाढी र पहिरोले सडक, पुल, घर तथा संरचनामा क्षति पुर्‍याउनुका साथै मानवीय क्षतिसमेत भएको छ।

पछिल्लो २४ घण्टामा पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएको छ। लमजुङको गिलुङमा १७९।२ मिलिमिटर, स्याङ्जाको पञ्चमुलमा १५३ र कास्कीका विभिन्न स्थानमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

लगातारको वर्षापछि बागलुङमा सडक अवरुद्ध, कास्कीमा पुल र होटल बगे, जाजरकोटमा झोलुंगे पुलसहित घरमा क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीमा मोदी खोलामा आएको बाढीले अन्नपूर्ण मन्दिरको केही भाग बगाउनुका साथै मन्दिरतर्फ जाने दुईवटा फलामे पुल बगाएको छ। बाढीका बेला मन्दिरभित्र फसेका पुजारी र दुई भक्तजनलाई शुक्रबार बिहान उद्धार गरिएको छ।यस्तै, घान्द्रुक जाने सडकखण्डमा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकमा क्षति पुर्‍याएको छ।

स्याङ्जाको पुतलीबजारमा अरौदीखोलाको बाढीले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन्। सोही क्षेत्रमा दुईवटा होटलसमेत पूर्ण रूपमा बगेका छन्।जाजरकोटको नलगाड–१० तासघाटमा बाढीले झोलुंगे पुल बगाउनुका साथै केही घरमा समेत क्षति पुर्‍याएको छ। रोली क्षेत्रमा एक घर पूर्ण रूपमा बगेको छ भने जोखिममा रहेका अन्य घरका २८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

रोल्पामा भने पहिरोले घरभित्रै मानिस पुरिएका छन्। सुनछहरी–२ फलबाङमा वीरबहादुर घर्तीको घर पहिरोले पूर्ण रूपमा पुरिँदा उनी, उनकी श्रीमती र छिमेकी महिला बेपत्ता भएका छन्। सोही क्षेत्रमा अर्को घरसमेत पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

बाजुरामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी २० वर्षीया प्रतिक्षा थापाको शव फेला परेको छ। घटनामा घाइते दुई जनालाई प्रहरीले स्ट्रेचरमा बोकेर सडकसम्म ल्याई जिल्ला अस्पताल मार्तडी पुर्‍याएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उता, कालिगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको निसीखोला क्षेत्रमा बाढी तथा पहिरोका कारण यातायात अवरुद्ध छ।

लगातारको वर्षाले पश्चिम नेपालमा एकैपटक सडक सम्पर्क, बस्ती, धार्मिक संरचना र घरहरूमा असर पारेको छ। जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि कतिपय घटनास्थलमा पुग्नसमेत कठिनाइ भइरहेको छ।मौसमजन्य विपद्को जोखिम अझै कायमै रहेकाले नदी तथा खोलाको आसपास र पहिरोको जोखिम भएका बस्तीमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।