काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानमाथि गम्भीर प्रश्न उठाउँदै डोजर सञ्चालनपछि मृत्यु हुनेको संख्या ९ पुगेको दाबी गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गुरुङले सुकुम्बासी व्यवस्थापनमा सरकार मानवीय संवेदनशीलताभन्दा बल प्रयोगमा केन्द्रित भएको आरोप लगाइन्। उनले डोजर अभियानपछि १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्वल तामाङसम्म ९ जनाले ज्यान गुमाएको उल्लेख गर्दै सरकारको नीति नै त्यसको कारण बनेको दाबी गरिन्।


उनले ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलमपाखी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापा मगर र ७५ वर्षीया रतनदेवी मलहानीको पनि मृत्यु भएको उल्लेख गरिन्।


सांसद गुरुङले सुकुम्बासीलाई उचित पुनर्स्थापनाबिनै बस्ती हटाउँदा उनीहरू असुरक्षित र कष्टकर अवस्थामा पुगेको दाबी गर्दै यस घटनालाई राज्य संयन्त्रद्वारा गरिएको संस्थागत हत्याको संज्ञा दिइन्। उनले सरकारलाई सुकुम्बासीप्रति अपनाइएको नीति पुनर्विचार गर्न र पीडित परिवारलाई न्याय दिन माग गरिन्।