काठमाडौं ।सरकारले आगामी एक वर्षभित्र संघीय संसदमा १६६ वटा विधेयक दर्ता गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विधेयकहरूको प्राथमिकतासहितको सूची बुझाउँदै पहिलो चरणमै आगामी कात्तिक मसान्तभित्र ६४ वटा विधेयक संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएकी हुन्।


सरकारको कार्ययोजनाअनुसार कात्तिकसम्म ६४, फागुनसम्म थप ४५ र असारभित्र थप ५७ विधेयक संसदमा पेश गरिनेछ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन र आवश्यक कानुनी सुधारलाई तीव्रता दिन सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।


यस योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अर्थ, गृह, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, कानुनलगायत अधिकांश मन्त्रालयले आगामी आर्थिक वर्षभित्र नयाँ वा संशोधनसहितका विधेयक संसदमा लैजाने तयारी गरेका छन्।