धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर मतभेद देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाह राजनीतिक संकटमा परेका छन्।


बजेटमा आफ्नै सत्ता साझेदार एमालेले खर्च कटौतीको प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएको छ। निकास खोज्न काठमाडौं पुगेका मुख्यमन्त्री शाह उच्च राजनीतिक तहबाट स्पष्ट समर्थन नपाएपछि धनगढी फर्किएका छन्।


यदि असार मसान्तभित्र बजेट पारित हुन सकेन भने प्रदेश ‘बजेट होलिडे’ मा जाने जोखिम बढेको छ। यता एमाले र प्रतिपक्षी नेकपा दुवैले बजेटविरुद्ध अडान कायम राखेकाले सरकारमाथि थप दबाब परेको छ।


राजनीतिक वृत्तमा अब मुख्यमन्त्री शाहसँग राजीनामा दिने वा प्रदेशसभामा विश्वासको परीक्षा सामना गर्ने विकल्प मात्र बाँकी रहेको चर्चा सुरु भएको छ। यससँगै सुदूरपश्चिममा एमाले–नेकपा नयाँ सत्ता सहकार्यको सम्भावना पनि बलियो बन्दै गएको विश्लेषण गरिएको छ।