काठमाडौं। नेपालमा नयाँ राहदानी उत्पादन प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबारदेखि जर्मन कम्पनी म्युहलबउर र भेरिडोस ले राहदानी छपाइ सुरु गरेका हुन्।

नयाँ प्रणालीको शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए। पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापेर सेवा सुरु गरिएको राहदानी विभागले जनाएको छ।

विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। अब राहदानीको व्यक्तिगत विवरण सङ्कलनदेखि छपाइसम्मको सम्पूर्ण प्रक्रिया नयाँ प्रणालीबाट सञ्चालन हुनेछ।

विभागले सुरुवाती केही दिन प्रणालीमा सामान्य प्राविधिक समस्या वा राहदानी वितरणमा केही ढिलाइ हुन सक्ने जनाएको छ। यस्ता समस्या समाधानका लागि प्राविधिक टोली र सम्बन्धित कम्पनीका विशेषज्ञ २४सै घण्टा निगरानीमा रहने विभागले जनाएको छ।

यसअघि नेपालका राहदानी फ्रान्सेली कम्पनी आइडिमिया ले छाप्दै आएको थियो।