सुनसरी। वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले अहिले खेतबारीमै आफ्नो भविष्य देखेका छन्। मलेसिया र माल्दिभ्समा आठ वर्ष बिताएका सुनसरीको इनरुवा–८ का गणेश आचार्य अहिले व्यावसायिक सागसब्जी खेती गर्दै वार्षिक १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गरिरहेका छन्। विदेशको रोजगारीभन्दा आफ्नै गाउँको कृषि नै दिगो आम्दानीको आधार बन्न सक्ने उदाहरण उनी बनेका छन्।
आफ्नै र भाडामा लिएको गरी १२ कठ्ठा जग्गामा उनले मौसमी तथा बेमौसमी काँक्रा, करेला, बोडी, खुर्सानी, भण्टा, भिन्डीलगायतका सागसब्जी उत्पादन गर्दै आएका छन्। केही वर्षअघि धान फल्ने खेत अहिले हरियाली तरकारीले भरिएको छ।
उनका अनुसार उत्पादनबाट हुने कुल आम्दानीमध्ये बिउ, मल, श्रम र अन्य खर्च कटाउँदा करिब आधा रकम बचत हुने गरेको छ। यही आम्दानीले परिवारको खर्च चलाउनुका साथै भविष्यका लागि बचत गर्न पनि सहज भएको उनी बताउँछन्।
उनको कृषि यात्रामा कृषि ज्ञान केन्द्रको सहयोग पनि महत्वपूर्ण बनेको छ। केन्द्रले भिन्डी र बैगुनको बिउ, मल, मल्चिङ प्लास्टिक, विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा उपलब्ध गराएको छ। प्राविधिक परामर्शले उत्पादन बढाउन थप सहयोग पुगेको आचार्यको भनाइ छ।
युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा आचार्य भने नेपालमै कृषि गरेर राम्रो आम्दानी सम्भव रहेको बताउँछन्। तर, दक्ष जनशक्ति अभाव, खेतमा काम गर्ने मजदुर नपाइनु र उत्पादनको उचित मूल्य नपाउनु अहिलेका मुख्य चुनौती भएको उनको गुनासो छ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा करिब ७ हजार ५०० हेक्टर क्षेत्रफलमा व्यावसायिक तथा मौसमी सागसब्जी खेती भइरहेको छ। बजार व्यवस्थापन, आधुनिक प्रविधि र सरकारी सहयोगलाई थप प्रभावकारी बनाउन सके कृषि क्षेत्रले धेरै युवालाई स्वदेशमै रोजगारी दिन सक्ने उनको विश्वास छ।






































