काठमाडौं / देशभर चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२ दशमलव ३८ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२ दशमलव ६२ प्रतिशत बिन्दुले कम हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ४ लाख ४३ हजार ५५९ दशमलव ०९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७ दशमलव ९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४० दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३ दशमलव ७३ प्रतिशत र बागमती प्रदेशमा ३३ दशमलव २ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, कोशी प्रदेशमा ३१ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १५ दशमलव ६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिसम्म भने सुदूरपश्चिममा ६२ दशमलव ८ प्रतिशत, कर्णालीमा ६७ दशमलव ७ प्रतिशत, गण्डकीमा ५५ दशमलव ६ प्रतिशत, लुम्बिनीमा ५२ दशमलव १ प्रतिशत, बागमतीमा ५१ दशमलव ९ प्रतिशत, कोशीमा २९ दशमलव ५ प्रतिशत र मधेशमा २५ दशमलव १ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष अधिकांश प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ । विशेषगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गत वर्षको तुलनामा रोपाइँको प्रतिशत घटेको छ । यद्यपि, कोशी प्रदेशमा भने गत वर्षको तुलनामा सामान्य सुधार देखिएको छ ।

कृषि विज्ञहरूका अनुसार पर्याप्त वर्षा ढिलो हुनु, कतिपय क्षेत्रमा सिँचाइको अभाव तथा रोपाइँका लागि अनुकूल मौसम समयमै नबन्नुका कारण यस वर्ष धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न नसकेको हुन सक्ने अनुमान गरिएको छ ।