काठमाडौं— प्रतिनिधिसभा बैठक सुरु भए पनि संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन। प्राविधिक समस्याका कारण नियमित रूपमा युट्युबमार्फत हुने लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुखले मन्त्रिपरिषद्बाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यससँगै सरकारले ल्याएका चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्नेछिन्। छलफलपछि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने अन्तिममा विधेयक पारितका लागि प्रस्ताव राखिनेछ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल र पारितको प्रस्ताव पेश गर्ने कार्यसूची छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफलको प्रस्ताव पेश गर्नेछिन्। उक्त विधेयक पनि आजै दफावार छलफलपछि पारित गर्ने तयारी छ।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि छलफल र पारितको प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछिन्।
सरकारले संसद् अधिवेशन नभएका बेला जारी गरेका आठ अध्यादेशमध्ये यी चार वटा अध्यादेश प्रतिस्थापन गर्न विधेयकका रूपमा प्रतिनिधिसभामा पेश गरिएको हो। प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। त्यहाँबाट पनि स्वीकृत भएपछि पुनः प्रतिनिधिसभामा फर्काइनेछ र सभामार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछन्।






































