काठमाडौं— डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ। महानगरले असारभित्रै पहिलो चरणमा सबै ३२ वडामा ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायमा आधारित विभिन्न संघसंस्थाका प्रतिनिधिलाई तालिम दिएर अभियानमा परिचालन गरिनेछ। कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालका अनुसार यस वर्ष बर्खायाम सुरु भएसँगै डेंगी नियन्त्रणका लागि एक हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने योजना बनाइएको छ।
अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायतका प्रतिनिधि सहभागी हुनेछन्। तालिमपछि उनीहरूलाई वडा–वडामा परिचालन गरी डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने जिम्मेवारी दिइनेछ।
भुसालका अनुसार डेंगी संक्रमण र यसबाट हुने मृत्युदर घटाउने लक्ष्यसहित महानगरले निगरानी तथा अनुगमन प्रणाली सुदृढ गर्ने, कीट नियन्त्रण, जोखिम सञ्चार, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी, बहुक्षेत्रीय सहकार्य तथा अनुसन्धानलाई प्राथमिकता दिएको छ।
मनसुन सुरु भएसँगै साउनदेखि डेंगी संक्रमण विस्तार हुँदै कात्तिक–मंसिरमा उच्च बिन्दुमा पुग्ने भएकाले अहिलेबाटै नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको महानगरको भनाइ छ। समयमै लार्भा नष्ट गर्न सकिए अघिल्ला वर्षको तुलनामा यस वर्ष संक्रमणदर घटाउन सकिने विश्वास गरिएको छ।
डेंगी सार्ने लामखुट्टे सडक र सडकपेटीका खाल्डाखुल्डी, गमला, पुराना टायर, पानी संकलन गरिएका भाँडा, कौसी तथा बरण्डामा जमेको सफा पानीमा बढी प्रजनन गर्ने भएकाले यस्ता स्थानमा पानी जम्न नदिन महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।
संक्रमित एडिस लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्दछ। संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र उच्च ज्वरो, टाउको दुख्ने, शरीर तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिन सक्ने भएकाले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।






































