काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ ।
पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन् । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो दलको केन्द्रीय समितिमा यति ठुलो सङ्ख्यामा महिलाको उपस्थिति हुनुलाई राजनीतिमा आएको सकारात्मक र सुखद परिवर्तनका रूपमा हेरिएको छ । यसअघि दलहरूमा महिला सहभागिताको विषय भाषण र कागजमा मात्र सीमित रहने गरेको आरोप लाग्ने गरेको थियो । तर, रास्वपाले महिलाहरूको सक्रिय सहभागितालाई व्यवहारमा उतारेर आफूलाई बधाईको पात्र बनाएको छ । विभिन्न राजनीतिक दलका नेतृहरू र राजनीतिक विश्लेषकहरूले रास्वपाको यस कदमलाई अन्य पुराना र स्थापित दलहरूले समेत शिक्षाको रूपमा लिनुपर्ने धारणा राखेका छन् ।
नेपालका प्रमुख राजनीतिक दलहरूले केन्द्रीय संरचनामा करिब ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रयास गरे पनि नेतृत्वको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै कमजोर देखिन्छ । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा करिब ३३ प्रतिशत महिला सहभागिता पुगेको तथ्याङ्क रहे पनि पदाधिकारी तहमा भने एक जना महिला मात्र समावेश भएकी छन् । नेपाली कांग्रेसमा पनि विधानअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने प्रयास गरिएको भए पनि त्यो मुख्यत आरक्षण तथा समावेशी व्यवस्थामार्फत हासिल भएको देखिन्छ। यसको विपरीत, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा भने महिलाको सहभागिता तुलनात्मक रूपमा बढी स्वस्फूर्त र प्रतिस्पर्धात्मक ढङ्गले बढ्दै गएको देखिन्छ, अन्य दलमा पनि खासै फरक पाइँदैन ।
रास्वपाले नेतृत्व तहमा महिलाको सक्रिय उपस्थिति र स्वीकार्यता विस्तार भइरहेको संकेत गर्छ । रास्वपाकी नवनिर्वाचित केन्द्रीय सदस्य विनीता कठायतले नेपाल न्यूज बैँकको टेलिफोन संवादमा यस पटकको निर्वाचनमा महिलाहरूले समानुपातिक प्रणालीमा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर आफ्नो क्षमता प्रदर्शन गरेको बताइन् । उनले भनिन्, पहिले महिलाहरूलाई ’सेफ साइड’ भनेर समानुपातिकमा धकेलिन्थ्यो, तर यस पटक महिलाहरूले मनोनयनमा नजाने भन्दै प्रत्यक्ष प्रतिस्पर्धामा होमिएर एकताबद्ध मिहिनेत गरेका छन् । कठायतका अनुसार, यो सफलता पुरुषको भन्दा पनि महिलाहरूको आफ्नै सक्रियताको परिणाम हो । पार्टी सङ्गठनमा महिलाहरूले गरेको अथक मिहिनेतले नै ५१ प्रतिशत महिला केन्द्रीय सदस्य निर्वाचित हुन सम्भव भएको उनले स्पष्ट पारिन् । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले निर्वाचन प्रणाली र राजनीतिक सहभागितामा जनताको उत्साहजनक उपस्थिति लोकतन्त्रका लागि निकै सकारात्मक रहेको बताइन् ।
सबै दलहरूले संविधानले तोकेको ३३ प्रतिशत भन्दा बढी स्थान सुनिश्चित गर्दै यसलाई अझै राम्रो बनाउँदै लैजाने कुरा स्वागतयोग्य रहेको उनको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले ५१ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिनु अत्यन्तै सकारात्मक पक्ष भएको बताइन् । उनले रास्वपाको यो सांगठनिक पहल सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीका बाँकी प्रक्रिया र कार्यकारिणी संरचनालाई पनि यसै गरी व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिइन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती शाहीले रास्वपाको यो कदमलाई राजनीतिक सहभागिताका क्षेत्रमा ऐतिहासिक उपलब्धि भनेकी छन् । उनले भनिन्, “यो महिलाका लागि मात्र नभएर नागरिक समान हुने अधिकारको लडाइँ हो ।
५१ प्रतिशत महिला जबसम्म सबल हुन सक्दैनन्, तबसम्म न घर बन्छ, न समाज, न राष्ट्र । नेतृ शाहीले रास्वपाले तयार पारेको यो आधारले भोलिका दिनमा महिलालाई पार्टीको उच्च कार्यकारिणी पदमा पुग्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरिन् । उनले महिला नेताहरूलाई अब यस उपलब्धिलाई चुनौतीका रूपमा आत्मसात गर्दै आफ्नो क्षमता अभिवृद्धि गरी पार्टीको नेतृत्व लिन अघि बढ्न सुझाव दिइन् । साथै, शाहीले थपिन्, अहिलेको समाजलाई यसले ठुलो रिफ्लेक्ट गर्छ । जनताले भोट दिएर जुन किसिमको विश्वास रास्वपा माथि देखाएका छन्, त्यसले महिलाको राजनीतिक सहभागितालाई पनि प्रमाणित गरेको छ ।
यो प्रयासले अन्य राजनीतिक दलहरूलाई समेत आफ्नो संरचना सुधार गर्न दबाब सिर्जना गर्ने उनको धारणा छ । राजनीतिक विश्लेषक सौगात गौतमले रास्वपाको महाधिवेशनबाट देखिएको महिलाहरूको उत्साहजनक सहभागिता नेपाली राजनीतिमा एउटा कोसेढुङ्गा साबित हुने बताए । संघीय संसद्को सबैभन्दा ठुलो दलले स्थापित गरेको यो मानकले अन्य राजनीतिक दलहरूका लागि पनि सकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ । समग्रमा, रास्वपाले आफ्नो महाधिवेशनमार्फत महिला सहभागिताको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसले नेपाली राजनीतिमा व्याप्त परम्परागत सोचलाई चिर्न मद्दत पुग्ने देखिन्छ ।
यो उपलब्धि रास्वपाको सफलता मात्र नभएर नेपालको समग्र राजनीतिक संस्कारमा सकारात्मक परिवर्तनको थालनीको रूपमा लिइएको छ ।






































