काठमाडौं । नेपालमा राष्ट्रिय धान दिवस वर्षेनी असार १५ गते धुमधामका साथ मनाइन्छ ।

तर, यो दिवस पछिल्ला वर्षहरूमा किसानलाई आधुनिक प्रविधि र उत्पादन वृद्धि सम्बन्धी सन्देश दिनेभन्दा पनि औपचारिकता, फोटो खिच्ने र दही–चिउरा खाने कार्यक्रममा सीमित हुन थालेको धान विज्ञ तथा प्राध्यापक डा.विष्णु विलास अधिकारी बताउँछन् । धानबाली अनुसन्धानमा तीन दशकभन्दा बढी समय बिताएका अधिकारीका अनुसार राष्ट्रिय धान दिवसको मूल उद्देश्य किसानलाई सही समयमा रोपाइँ, उन्नत बीउ, मल, सिँचाइ, यान्त्रीकरण र आधुनिक खेती प्रविधिबारे सचेत गराउनु हो । तर अहिले यसको मूल मर्म कमजोर बन्दै गएको उनको भनाइ छ ।

‘आजभोलि जुत्ता लगाएर खेतमा जाने, केही बेर प्रतीकात्मक रूपमा रोपाइँ गर्ने, फोटो खिच्ने र दही–चिउरा खाने प्रवृत्ति बढेको छ,’ उनी भन्छन, ‘वास्तविक किसानको खेतमा पुगेर उत्पादन कसरी बढाउने भन्ने सन्देश दिने काम भने कमजोर भएको छ ।’ लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले सर्वोदय माध्यमिक विद्यालयबाट एसएलसी, लमजुङ क्याम्पसबाट आईएससी कृषि र त्यसपछि रामपुरबाट बीएससी एजी तथा एमएससी एजी पूरा गरेका हुन् । एग्रोनोमी विषयमा विशेषज्ञता हासिल गरेका उनले स्नातकोत्तर तहदेखि नै धानबालीमा अनुसन्धान सुरु गरेका थिए ।पछि अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान आईआरआरआईको सहयोगमा उनले लमजुङ, तनहुँ र गोरखामा धानबालीसम्बन्धी विभिन्न अनुसन्धान परियोजना सञ्चालन गरे ।

विशेषगरी पछिल्लो समय ओझेलमा परेको घैया धानको संरक्षण तथा छनोटमा उनले काम गरेका थिए । त्यसपछि आईआरआरआईकै आर्थिक सहयोगमा भारतको इलाहाबाद विश्वविद्यालयबाट विद्यावारिधि पीएचडी गरेका अधिकारीको अनुसन्धानले नेपालमा सुक्खा सहन सक्ने धानका जात विकासमा महत्वपूर्ण योगदान पु¥यायो । उनका अनुसार सन् २०११ मा सार्वजनिक भएका सुक्खा धान–१, सुक्खा धान–२ र सुक्खा धान–३८८ जात विकासमा उनको अनुसन्धानका तथ्यांक उपयोग भएका थिए । त्यसपछि सन् २०१४ मा ८८सुक्खा धान–४, ५ र ६८८ समेत विकास भए, जसले जलवायु परिवर्तनका कारण बढ्दो सुख्खाको जोखिम सामना गर्न नेपाली किसानलाई सहयोग पुर्याइरहेको छ

अधिकारीका अनुसार अहिले नेपालको धान खेतीमा सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो । पहाडमा अत्यधिक वर्षा हुँदा तराईमा बाढी र डुबान हुन्छ भने कतिपय वर्ष लामो खडेरीले रोपाइँ नै प्रभावित हुन्छ । यही चुनौतीलाई ध्यानमा राख्दै नेपालमा सुख्खा सहन सक्ने, डुबान सहन सक्ने तथा लामो समय पानीमा डुबेर पनि उत्पादन दिनसक्ने धानका जात विकासमा अनुसन्धान भइरहेको उनी बताउँछन् । ‘हाम्रो प्राथमिकता नै सुक्खा हो,’ उनी भन्छन्,‘नेपालमा वर्षेनी खडेरीको समस्या दोहोरिने भएकाले त्यहीअनुसारका जात विकासमा धेरै काम भइरहेको छ ।’ हाल उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन् । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीलाई अनुसन्धानमा मार्गदर्शन गर्दै नयाँ पुस्ताका कृषि वैज्ञानिक तयार पार्ने काममा उनी सक्रिय छन् ।

यद्यपि, कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण भने घट्दै गएको उनको विश्लेषण छ। उनका अनुसार पछिल्ला वर्षहरूमा गुणस्तरीय पूर्वाधार, प्रयोगशाला, अनुसन्धान सुविधा र दक्ष जनशक्तिको अभावका कारण विद्यार्थी विदेशतर्फ आकर्षित भएका छन् । ‘हामीले आवश्यकता भन्दा धेरै कृषि क्याम्पस खोल्यौं तर गुणस्तरमा ध्यान दिएनौं,‘ उनी भन्छन्,’रोजगारीको सुनिश्चितता र अनुसन्धानको वातावरण कमजोर हुँदा विद्यार्थी विदेश गइरहेका छन् ।’ उनका अनुसार अहिले धेरै निजी कृषि क्याम्पस विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । तर गुणस्तरीय शिक्षा दिन सकिए कृषि अझै पनि भविष्य सुरक्षित बनाउने विषय भएको उनको विश्वास छ ।

‘कृषि पढेको विद्यार्थी संसारभर वैज्ञानिक बन्न सक्छ, अनुसन्धान गर्न सक्छ वा आफैं सफल उद्यमी बन्न सक्छ,’उनी भन्छन् । ‘कृषिमा सम्भावना धेरै छन्। अब विस्तारै युवाको आकर्षण पनि बढ्न थालेको छ ।’ धान उत्पादन बढाउन सरकारी प्रयास भइरहेको स्वीकार गर्दै अधिकारी कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताउँछन् । उनका अनुसार उन्नत बीउ उत्पादन, बीउ संरक्षण, किसानलाई अनुदान, यान्त्रीकरण तथा आधुनिक प्रविधि विस्तारका कार्यक्रम सुरु भए पनि त्यसको प्रभाव किसानसम्म पूर्ण रूपमा पुग्न सकेको छैन । विशेषगरी रासायनिक मलको उपलब्धता अझै पनि ठूलो समस्या रहेको उनी बताउँछन् ।

सरकारले पर्याप्त मल मौज्दात रहेको भन्छ, तर किसानले रोपाइँको समयमा मल पाउँदैनन्,‘उनी भन्छन् । ‘त्यो किन भइरहेको छ भन्ने विषयमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ ।’ उनका अनुसार किसानले आवश्यक समयमा, आवश्यक मात्रामा र उचित मूल्यमा मल पाए उत्पादन स्वतः बढ्न सक्छ । राष्ट्रिय धान दिवसको महत्वबारे बोल्दै अधिकारी असार १५ ले सम्पूर्ण नेपालीलाई धान रोपाइँको समय भएको सन्देश दिने विश्वास व्यक्त गर्छन् । पहाड र तराईमा रोपाइँको समय केही फरक भए पनि असार १५ प्रतीकात्मक रूपमा सबैलाई कृषि अभियानमा जोड्ने दिन भएको उनको भनाइ छ । ‘हामी सबै भात खाने मानिस हौं,’उनी भन्छन्, ‘त्यसैले धान उत्पादन बढाउने अभियानमा किसान मात्र होइन, सरकार, अनुसन्धानकर्ता, विश्वविद्यालय, विद्यार्थी र समाजका सबै क्षेत्र एकजुट हुनुपर्छ ।’


उनका अनुसार जलवायु परिवर्तनको चुनौती सामना गर्न उन्नत बीउ, पर्याप्त सिँचाइ, मल, यान्त्रीकरण र आधुनिक खेती प्रविधिलाई प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना अझै बलियो रहेको छ । पुर्यायो