काठमाडौं— नेपाल चिकित्सक संघले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा संघसँग सम्बन्धित प्रकाशित एवं प्रसारित भ्रामक, तथ्यहीन तथा जनमानसमा भ्रम फैलाउने अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७-१ अनुसार आधुनिक चिकित्सा अभ्यास गर्ने उद्देश्यले आफूले प्राप्त नगरेको डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स वा उपाधि नामसँग जोडेर प्रयोग गर्न कानुनले निषेध गरेको स्मरण गराएको छ। साथै, आवश्यक शैक्षिक योग्यता हासिल गरी कानुनी प्रक्रिया पूरा गर्दै नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकले मात्र आधुनिक चिकित्सा सेवा प्रदान गर्न पाउने कानुनी व्यवस्था रहेको संघले स्पष्ट पारेको छ।

नेपाल चिकित्सक संघले योग्य र दर्ताप्राप्त चिकित्सकमार्फत मात्र आधुनिक स्वास्थ्य सेवा प्रवाह हुनुपर्ने आफ्नो अडान विगतदेखि नै स्पष्ट रहेको उल्लेख गर्दै अवैध रूपमा चिकित्सा अभ्यास गर्ने कुनै पनि गतिविधिप्रति संघको असहमति र विरोध निरन्तर रहने जनाएको छ।

संघका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले स्वास्थ्यसम्बन्धी परामर्श दिने, औषधि सिफारिस गर्ने तथा चिकित्सकीय अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकबाट मात्र आधुनिक चिकित्सकीय अभ्यास तथा औषधि सिफारिस गरिनुपर्नेमा संघले जोड दिएको छ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद् -काउन्सिल बीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको दर्ता, कार्यक्षेत्र र अधिकारसँग सम्बन्धित विषयहरू कानुनी तथा संस्थागत रूपमा समाधान गर्न सम्बन्धित निकायलाई नेपाल चिकित्सक संघले आग्रह गरेको छ।