काठमाडौं— फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा पनि अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ । आइतवार बिहान सम्पन्न खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना समूहका तीनै खेल जितेर अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको यस जितमा कप्तान लियोनल मेसीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै उत्कृष्ट गोल गरे ।

खेलको सुरुवाती समयमा बेन्चमा रहेका मेसी ६० औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । उनले मैदान छिरेको २० मिनेटमै अर्थात् खेलको ८० औँ मिनेटमा फ्रिकिकमार्फत एक सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यसअघिका दुई खेलमा ५ गोल गरिसकेका मेसीको जोर्डनविरुद्धको यो गोलसँगै जारी विश्वकपमा कुल गोल सङ्ख्या ६ पुगेको छ । उनी विश्वकप २०२६ को सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा कायमै छन् ।

१९ औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाए । ३१ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो, जसमा स्ट्राइकर लाउटारो मार्टिनेजले कुनै गल्ती नगरी टोलीको अग्रता दोब्बर ९२–०० बनाए ।

५५ औँ मिनेटमा जोर्डनका स्टार खेलाडी मुसा अल तामरीले उत्कृष्ट गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याएर अर्जेन्टिनामाथि दबाब बढाउने प्रयास गरे ।

तर, ८० औँ मिनेटमा मेसीको फ्रिकिक गोल जोर्डनका लागि बाधक बन्यो र खेल अर्जेन्टिनाले ३–१ ले आफ्नो पोल्टामा पार्‍यो । 

यो पराजयसँगै समूह चरणमा एक अङ्क पनि जोड्न नसकेको जोर्डन प्रतियोगिताबाट बाहिरिएको छ भने अर्जेन्टिना बलियो मनोबलका साथ अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको छ ।