काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी तथा भूमिहीन परिवार यतिबेला गम्भीर अन्योलमा परेका छन्। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले सुरक्षित बसोबासको सुनिश्चितता माग गरेका छन्।
प्रति परिवार २५ हजार रुपैयाँ दिएर बाहिरिन भनिए पनि सुकुम्बासीहरूले ‘त्यो पैसाले घर कहाँ बन्छ ?’ भन्दै प्रश्न गरेका छन् । राधास्वामी सत्संग परिवारले सरकारलाई अपिल गर्दै स्थायी व्यवस्थापन नभएसम्म वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले विकल्प नदिई हटाइए फेरि पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।
वर्षौंको संघर्षपछि सुरक्षित आश्रय पाएका यी परिवार अहिले फेरि छानो गुम्ने त्रासमा बाँचिरहेका छन्। उनीहरूले ‘हामीलाई निकाल्न सजिलो होला, तर हामी बस्न कहाँ जाने ?’ भन्दै उचित व्यवस्थापन नगरे पहिलेकै स्थानमा गएर छाप्रो हाल्ने चेतावनी दिएका छन् ।



































