काठमाडौं। राजधानी काठमाडौं यतिबेला बर्डफ्लुको उच्च जोखिममा छ। संक्रमित कुखुरा नष्ट गर्ने क्रम जारी छ, चिडियाघरमा समेत संक्रमण पुष्टि भएको छ। यद्यपि विज्ञहरू तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। तर सावधानी भने अनिवार्य छ। बर्डफ्लुको वर्तमान अवस्था र जोखिम कस्तो छ ? हेरौं यो रिपोर्ट।
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण फैलिँदै गएको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न क्षेत्रमा संक्रमण पुष्टि भएको छ भने उपत्यका अहिले बर्डफ्लुको मुख्य प्रभावित क्षेत्र बनेको छ।
संक्रमण विशेषगरी पोल्ट्री फार्ममा देखिएको छ। अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक सुरक्षा मापदण्डको पालना नहुनु संक्रमण फैलनुको मुख्य कारण मानिएको छ।
यसैबीच ललितपुरको जावलाखेलस्थित चिडियाघरमा मरेका केही चराचुरुङ्गी तथा वन्यजन्तुमा पनि बर्डफ्लु पुष्टि भएको छ। त्यसपछि निगरानी र सतर्कता थप बढाइएको छ।
बर्डफ्लु मुख्यतः पन्छीमा फैलिने रोग हो। मानिसमा संक्रमणको जोखिम कम भए पनि संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरू बढी जोखिममा रहने गर्छन्।
संक्रमित पन्छी वा तिनका स्रावसँग सम्पर्क भएमा ज्वरो, खोकी, घाँटी दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। त्यसैले बिरामी वा मरेका पन्छीलाई नछुन, मासु र अन्डा राम्ररी पकाएर मात्र खान तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।
सरकारी निकायले प्रभावित क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक नियन्त्रणका उपायहरू लागू गरिरहेको जनाएको छ।काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दै गएपछि पशु तथा जनस्वास्थ्य दुवै क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कबाट बच्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।






































