काठमाडौं। भूमिहीन भएर पुस्तौंदेखि बसोबास गर्दै आएका हजारौं परिवारका लागि सरकारले असारको तस्रो सातादेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । वास्तविक सुकुम्वासीहरुलाई सरकारले यही असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको हो।
प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले लालपुर्जा वितरणको तयारी पूरा हुन लागेको बताइन्।
सरकारका अनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान, तथ्याङ्क संकलन र आवश्यक प्रशासनिक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। संसदमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंका सुकुमवासीलाई विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएको विषय उठाएका थिए। उनले उचित व्यवस्थापन गर्न नसके पहिले बसेकै स्थानमा व्यवस्थित बसोबासको वातावरण बनाउन सरकारसँग आग्रह गरे।
यता सरकार भने अब समस्या समाधानको चरणमा पुगेको दाबी गरिरहेको छ। विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको कार्यक्रमलाई नयाँ संयन्त्रमार्फत अघि बढाइएको सरकारको भनाइ छ।यदि घोषणा कार्यान्वयनमा पुग्यो भने वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका हजारौं सुकुमवासी परिवारले पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्नेछन्।
सरकारको यो घोषणा सुकुमवासीका लागि ठूलो आशा बनेको छ। तर विगतमा पनि यस्ता प्रतिबद्धता धेरै पटक दोहोरिएकाले अब सबैको नजर कार्यान्वयनतर्फ केन्द्रित भएको छ।






































