रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।

तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।

भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी सीप प्रदान गर्दै आत्मविश्वास अभिवृद्धि गर्नु रहेको थियो।

तालिम समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा आत्मरक्षा तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले किशोरीहरूलाई आत्मनिर्भर र सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।