काठमाडौं । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको र बजेटले माग सम्बोधन नगरेको भन्दै शिक्षक र विद्यालय कर्मचारी पुनः आन्दोलनको तयारीमा जुटेका छन्। शिक्षा ऐन जारी नहुनु, सेवा–सुविधाका विषयमा बेवास्ता हुनु र पुराना प्रतिबद्धता अलपत्र पर्नुले असन्तुष्टि बढेको उनीहरूको भनाइ छ।

शिक्षक र विद्यालय कर्मचारीले सरकारविरुद्ध फेरि आन्दोलनको चेतावनी दिएका छन्। गत वर्ष भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलनको तयारीमा लागेको हो। महासंघका अनुसार शिक्षा ऐन जारी गर्ने, सेवा–सुविधा सुधार गर्ने लगायतका प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेका छैनन्। यही कारण शिक्षकहरू आन्दोलनतर्फ धकेलिएको महासंघको भनाइ छ।

यता विद्यालय कर्मचारीले भने चरणबद्ध आन्दोलन नै सुरु गरिसकेका छन्। उनीहरूले जेठ २८ गतेदेखि कालो पट्टी बाँधेर काम गरिरहेका छन् भने माग पूरा नभए असार ५ गते देशभरका विद्यालयको प्रशासनिक कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। कर्मचारीहरूले स्थायी दरबन्दी सिर्जना, शिक्षा ऐन जारी, पुराना सहमति कार्यान्वयन, सम्मानजनक अवकाश र अदालतका फैसला लागू गर्नुपर्ने माग राखेका छन्।

उता शिक्षा मन्त्रालयले भने विद्यालय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ। मन्त्रालयका अनुसार सरोकारवालासँग छलफल गर्दै विधेयकलाई अन्तिम रूप दिने काम भइरहेको छ। तर शिक्षक र कर्मचारी दुवैले सरकारका आश्वासनभन्दा कार्यान्वयन खोजिरहेका छन्।