सर्लाही । सर्लाहीमा ईभी हाईस माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् ।

जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकखण्डमा आज आइतबार बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा।प्र।०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो।सोही क्रममा पैदल हिँडिरहेका बागमती–९ निवासी जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाईसले ठक्कर दिएको थियो ।

ईभी हाईसको ठक्करबाट दुवै महिला घाइते भएकी थिइन् । उनीहरुलाई उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकी जयकुमारी देवीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते पुनमदेवी यादवको बाराकै कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

साथै, ईभी हाईस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।