काठमाडौं— कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि., ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र अन्य योग्य ग्राहकले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त छुटमा बाह्य तथा भित्री बिरामी सेवा, आकस्मिक उपचार सेवा र औषधि खरिदसमेत समावेश गरिएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि देशभर बैंकिङ सेवा विस्तार गर्दै आएको छ। हाल बैंकले २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिष्ठित अस्पतालसँग सहकार्य गर्दै आएको जनाएको छ। यस्ता सम्झौताले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
सेवा विस्तार र ग्राहक सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने बैंकको प्रतिबद्धता रहेको छ।





































