काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।
भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अनुसन्धानबाट मात्रै स्पष्ट हुने बताए।
नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालय तथा सरोकारवाला निकायलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार जेठ ८ देखि १२ गतेसम्म नेपाल भित्रिएका गाडीहरू नियन्त्रणमा परेका हुन्। आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा कर वृद्धि हुने व्यवस्था आएपछि छोटो अवधिमै ठूलो संख्यामा गाडी आयात भएको विषयले समेत चासो बढाएको छ।
सामान्यतया मासिक करिब २५० वटा सवारी आयात हुने गरेकोमा चार दिनमै ७७४ वटा गाडी भित्रिएको तथ्यले घटनाबारे थप अनुसन्धान आवश्यक देखिएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन्।
हालसम्म बजेटसम्बन्धी सूचना चुहावट वा कुनै कर्मचारीको संलग्नता पुष्टि नभएको र अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने सरकारी निकायहरूको भनाइ छ।






































