जनकपुरधाम— मधेस प्रदेशमा बाल कुपोषण गम्भीर चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका करिब १६ प्रतिशत बालबालिका कुपोषण वा शीघ्र कुपोषणको अवस्थामा रहेका छन्।
प्रदेशका १३३ स्थानीय तहमा सञ्चालन गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य मूल्याङ्कन गरिएको थियो। परीक्षणका क्रममा ३५ हजार ८८३ बालबालिका कुपोषित, आठ हजार ७७१ बालबालिका शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ बालबालिका सामान्य अवस्थामा रहेको पाइएको छ।
अभियानमार्फत गरिएको परीक्षणले प्रदेशमा कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले जानकारी दिए । तथ्याङ्कअनुसार कुपोषित र शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ, जुन कुल परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव र असन्तुलित खानपानका कारण कुपोषण समस्या जटिल बन्दै गएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव डा। प्रमोद यादव ले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा समेत बाल कुपोषणको उच्च दर देखिनु चिन्ताको विषय भएको उल्लेख गरे।
नेपालका करिब २९ प्रतिशत बालबालिका मधेस प्रदेशमा जन्मिने तथा देशको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा यस प्रदेशमा बसोबास गर्ने भएकाले कुपोषण नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन्।






































