काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोलीको संख्या १० पुर्याइने भएको छ। भदौं २० गते अर्थात् आजदेखि होम एन्ड अवेका आधारमा हुने घोषणा गरिएको एनएसएलको चौथो संस्करणका लागि ३ टोली थपिने भएको छ।
तेस्रो संस्करण ७ टोलीले खेलेका थिए । एनएसएलले नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन आज आह्वान गरेको छ।
लिगले विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको पनि एनएसएलले जनाएको छ। यद्यपि, अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिनेछ । एनएसएलमको घोषणा सभामा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने जनाइएको थियो ।
लिगका अनुसार नयाँ क्लब थप्ने योजना नेपाली फुटबललाई देशभर विस्तार गर्ने, स्थानीय समर्थकको सहभागिता बढाउने, क्लब विकासलाई मजबुत बनाउने तथा व्यावसायिक सम्भावना विस्तार गर्ने दीर्घकालीन रणनीतिको हिस्सा रहेको एनएसएलले दाबी गरेको छ ।
एनएसएलले विस्तार प्रक्रियासम्बन्धी योग्यता, आवेदन प्रक्रिया र सहभागिताका अन्य मापदण्डबारे इच्छुक पक्षलाई थप जानकारीका एनएसएल सचिवालयसँग सम्पर्क गर्न आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







































