काठमाडौं— देशभरका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइनमार्फत आवेदन संकलन गरिएको हो। समितिले गत जेठ ४ गते उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।
प्राप्त आवेदनमध्ये सबैभन्दा बढी २६ वटा आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेका छन्। त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाले आवेदन दिएका छन्।
सबैभन्दा कम आवेदन भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ। उक्त प्रतिष्ठानको उपकुलपति बन्न ११ जनाले मात्रै आवेदन दर्ता गरेका छन्।
सचिवालयका अनुसार अब उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, कार्ययोजना तथा प्रस्तुतीकरणको मूल्याङ्कनपछि छनोट समितिले उपयुक्त उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ।






































