काठमाडौं— मकाउको अक्टागनमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै ‘रोड टु यूएफसी सिजन–३’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका नेपाली मिक्सड मार्सल आर्ट्स (एमएमए) का उदयमान तारा रविन्द्र ढाँटलाई मकाउमै भव्य सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै मकाउमा सक्रिय नेपाली संस्थाहरूले ‘बझाङका बाघ’ उपनामले परिचित रविन्द्रलाई नगद २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । एक विशेष समारोहका बीच सुदूरपश्चिमेली समाज मकाउले १ लाख रुपैयाँ र मकाउमा बस्दै आएका नेपालका पूर्व बक्सिङ खेलाडीहरुको संगठन ‘एक्स बक्सिङ मकाउ’ ले १ लाख रुपैयाँ गरी कुल २ लाख रुपैयाँ रविन्द्र तथा उनको प्राविधिक टोलीलाई हस्तान्तरण गरेको छ ।

सीमित स्रोत-साधन र पूर्वाधारका बावजुद विश्वकै सबैभन्दा प्रतिष्ठित फाइटिङ एरिना ‘यूएफसी’ को सपना पछ्याइरहेका नेपाली खेलाडीलाई विदेशी भूमिमा रहेका प्रवासी नेपालीहरूले देखाएको यो तत्परता र स्नेह अनुकरणीय मानिएको छ । यसरी तत्कालै मिलेको आर्थिक र नैतिक प्रोत्साहनले आगामी अगस्त २८ मा चीनको सङ्घाईमा हुने सेमिफाइनल भिडन्तका लागि रविन्द्र र उनको सम्पूर्ण टोलीलाई थप मानसिक ऊर्जा, उच्च मनोबल र आर्थिक राहत मिल्ने विश्वास गरिएको छ।