सिमकोट । हुम्ला–बाजुरा सीमा क्षेत्रमा भएको विवाद र त्यसपछि उत्पन्न तनावबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयको जाँचबुझ टोली हुम्ला पुगेको छ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विमलराज पौडेल को नेतृत्वमा रहेको टोली आइतबार सिमकोट आइपुगेको हो। टोलीले विवादित लाम्पाटा र च्याचौर क्षेत्रको अवलोकन गरिसकेको छ भने अब स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गर्ने तयारी गरेको छ।

दुई जिल्लाबीचको सीमा निर्धारणलाई लिएर जेठको पहिलो साता उत्पन्न विवाद झडपमा परिणत भएपछि घटनाको वास्तविक अवस्था बुझ्न गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाएको हो। टोलीले स्थानीय तहबाट प्राप्त धारणा र तथ्यका आधारमा प्रतिवेदन तयार पार्ने अपेक्षा गरिएको छ।

विवादको मूल कारण सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा सीमा क्षेत्र नजिक प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरी काम सुरु गर्नु रहेको बताइन्छ। त्यसपछि सीमा दाबीलाई लिएर दुवै जिल्लाका स्थानीयबीच तनाव बढेको थियो।

झडपका क्रममा बाजुराका चार जना घाइते भएका थिए। घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। घटनापछि सरकारले सीमा विवादको दीर्घकालीन समाधान खोज्न नापी तथा सुरक्षा निकायका छुट्टाछुट्टै अध्ययन टोलीसमेत परिचालन गरेको छ।

स्थानीयस्तरको विवादले अन्तरजिल्ला सम्बन्धमै असर पार्न सक्ने चिन्ता बढिरहेका बेला केन्द्रबाट आएको टोलीको प्रतिवेदनले सीमा सम्बन्धी अन्योल हटाउने अपेक्षा गरिएको छ।