काठमाडौं— कीर्तिपुरस्थित ‘बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’को नामबाट बीपी कोइरालाको स्मृति हटाइएको पाइएको छ। स्थापना भएको करिब १२ वर्षपछि संस्थाको औपचारिक नाम परिवर्तन गरी ‘प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’ मात्र राखिएको छ।

नाम परिवर्तनबारे कुनै सार्वजनिक सूचना वा औपचारिक जानकारी नदिइएको भन्दै चासो व्यक्त गरिएको छ। हाल संस्थाले प्रयोग गरिरहेको आधिकारिक पत्राचारमा पनि बीपी कोइरालाको नाम उल्लेख गरिएको छैन।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त संस्थाको उद्घाटन तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाले २०७१ असोज ३ गते गरेका थिए।

कीर्तिपुरमा रहेको उक्त विज्ञान संग्रहालयले खगोल विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रदर्शनीका गतिविधि सञ्चालन गर्दै आएको छ।