मुगु— मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका ४५ वर्षीय रुप बहादुर सेजुवाल आफ्ना बुबाले गर्दै आएको मौरी पालनमा ब्यवसायलाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो समयमा सरकारी निकायबाट मौरी पालन सम्बन्धित ज्ञान पाएपछि मुडे घारबाट सुधारिएको घारमा मौरी पालनबाट बार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।
बिगतका बर्षहरुमा आफ्नै बुबाबाजेले गर्दै आएका सेजुवाल हिजोआज जिल्ला कृषि बिकास कार्यालय मुगुबाट मौरी पालनलाई थप सुधारको लागि केही प्राविधिक ज्ञानसहित आर्थिक अनुदान समेत प्राप्त गरेपछि उत्साहित छन् ।
सेजुवाल बिहान सवेरैदेखि बेलुकासम्म मौरी घारमा नै व्यस्त देखिने गरेका छन् । उनी मौरीलाई दाना, घारमा सुरक्षा दिनेलगायतका काममा व्यस्त हुने गरेका छन् ।
करिब ७० वटा परम्परागत घारमा मौरी पालन गरिरहेका उनले विगतमा कतैबाट आर्थिक तथा प्राविधिक सहयोग नपाएपनि आफ्नै पुर्खाले हासिल गरेको ज्ञान प्रयोग गरेर व्यवसाय गर्दै आइरहेका थिए ।
तर पछिल्ला दिनहरुमा महको बजार पनि सुधार भएकाले अन्य पेशा भन्दा मौरी पालनबाट राम्रो आम्दानी भइरहेकाले यसमै सक्रिय भएको उनले बताए । उनले मौरी पालनबाट बार्षीक तीन लाख रुपैंयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए ।
जिल्ला कृषि बिकास कार्यलयले २ लाख ५० हजार र आफ्नो २ लाख ५० हजार गरी पाँच लाख रुपैंयाँमा मौरीको सुधारिएको मौरी घार निर्माण गरिएको उनले सुनाए ।
सुधारिएको घारमा हिजोआज १० समूह भन्दा बाढी मौरी प्रवेश गरिसकेका छन् । बिदेश जानुभन्दा पनि आफ्नै भूमिका कुनै पेशा गर्दा राम्रो फाइदा हुने रहेछ भन्ने उनले अनुभूति गरेको बताए । मौरी पालक कृषकहरुलाई सरकारले मौरी बीमा समेत गरिदिएकाले थप राहत मिलेको उनले बताए ।
०४२ सालबाट मौरी पालन गर्दै आएका उनले ४० बर्षदेखि घरखर्च, वालबच्चा पढाइलगायतको खर्च धानिरहेको उनले बताए ।
बिषेश गरी हिमाली जिल्ला मुगुमा मौरी पालन निकै राम्रो छ । धेरै मिहीनेत नचाहिने भएकाले कृषकहरु उत्साहित समेत छन् । तर मौरी पालनका लागि अन्य औजार उपकरणलगायतको सेवा सुविधा नपाएको कृषक लाल बहादुर रावलले बताए ।
‘जिल्ला कृषि बिकास कार्यालय मुगुबाट प्रत्येक बर्ष मौरी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कार्यक्रम दिंदै आएका छौ । जिल्लाबाट १ करोड भन्दा बढीको मह उत्पादन भइ कारोवार भएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।




































