देवेन्द्र किशोर:  नेपालको वर्तमान संसद् केवल नीति, कार्यक्रम र विधेयकको बहस गर्ने थलो मात्र रहन छाडेको छ। पछिल्लो समय संसद् जनभावना, सामाजिक सञ्जालको प्रभाव, प्रत्यक्ष स्टन्टबाजी र राजनीतिक प्रदर्शनको अखडा बन्दै गएको अनुभूति हुन थालेको छ। यही परिवर्तित संसदीय संस्कृतिको केन्द्रमा अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) देखिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर जवाफ दिनुपर्छ भन्ने माग राख्दै उनले अपनाएको शैलीले एकातिर चर्चा पाएको छ भने अर्कोतिर गम्भीर आलोचना पनि जन्माएको छ।

प्रतिपक्षीको काम सरकारलाई प्रश्न गर्नु, निगरानी गर्नु र जवाफदेही बनाउनु नै हो। संसदीय लोकतन्त्रको आधारभूत मर्म पनि यही हो। प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्ने माग सैद्धान्तिक रूपमा गलत होइन। संसदीय व्यवस्थामा कार्यकारी प्रमुखले संसद्लाई बेवास्ता गर्न मिल्दैन। यही कारण कतिपयले हर्क साम्पाङको भूमिकालाई 'खाँटी प्रतिपक्ष' को रूपमा व्याख्या गरिरहेका छन्। तर प्रश्न यहाँ उठ्ने शैली, राजनीतिक परिपक्वता र संसदीय मर्यादाको हो।

हर्क साम्पाङको राजनीतिक यात्रा हेर्दा उनी परम्परागत राजनीतिज्ञभन्दा बढी एक अभियन्ताका रूपमा देखिन्छन्। धरान उपमहानगरपालिकाको मेयर हुँदा पनि उनले प्रशासनिक पद्धतिभन्दा आन्दोलनकारी शैलीलाई प्राथमिकता दिएका थिए। श्रमदान, सार्वजनिक आह्वान, भावनात्मक भाषण र सामाजिक सञ्जालमार्फत जनसमर्थन जुटाउने उनको शैलीले उनलाई चर्चित बनायो। तर त्यही शैलीमा देखिएको आवेग, उत्तेजना र स-साना विषयमा समेत टकरावपूर्ण व्यवहारले उनको व्यक्तित्वमाथि प्रश्न पनि उठाउँदै आयो।

आज संसद्मा देखिएको उनको व्यवहार त्यसैको निरन्तरता जस्तो देखिन्छ। संसद्‌भित्र प्लेकार्ड प्रदर्शन, निरन्तर अवरोध, प्रधानमन्त्रीको खोजी अभियानजस्तो शैलीले केही समयका लागि जनताको ध्यान तान्न सक्छ, तर त्यसले दीर्घकालीन राजनीतिक विश्वसनीयता निर्माण गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। संसदीय राजनीति केवल आक्रोश प्रदर्शनको माध्यम होइन, त्यो वैचारिक बहस, संयमता र रणनीतिक संघर्षको पनि क्षेत्र हो।

राजनीतिक विश्लेषकहरूले उठाएको मुख्य चिन्ता यही हो, हर्क साम्पाङ अझै पनि आन्दोलनकारी मनोविज्ञानबाट बाहिर निस्किन सकेका छैनन्। उनको राजनीतिक शैलीमा संस्थागत सोचभन्दा व्यक्तिगत आवेग बढी हाबी देखिन्छ। विरोधलाई व्यवस्थापकीय समाधानतर्फ लैजानुभन्दा घटनालाई प्रदर्शनात्मक बनाउने प्रवृत्तिले उनी 'स्टन्टबाजीमा रमाउने नेता' को छवि बनाउन पुगेका छन्। संसद् जस्तो सर्वोच्च संस्थामा अमर्यादित शैली दोहोरिनु स्वयं उनको राजनीतिक भविष्यका लागि चुनौती बन्न सक्छ।

नेपाली राजनीतिमा विगतमा पनि प्रतिपक्षले संसद् अवरोध गरेका उदाहरण छन्। प्लेकार्ड देखाउनेदेखि वेल घेराउ गर्ने कार्य नयाँ होइनन्। तर विगतका आन्दोलनकारी शैलीलाई निरन्तर दोहोर्याउनु मात्र राजनीतिक सफलता होइन। जनताले अहिले  नाराबाजी होइन, परिणाम खोजिरहेका छन्। सरकारलाई दबाब दिने नाममा संसद्को नियमित कामकारबाही अवरुद्ध गर्नु लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने काम पनि हुन सक्छ।

अर्कोतर्फ वर्तमान सत्ता पनि आलोचनाबाट मुक्त छैन। प्रधानमन्त्री संसद्मा उपस्थित हुन अनिच्छुक देखिनु, प्रश्नहरूको प्रत्यक्ष सामना नगर्नु र संवैधानिक उत्तरदायित्वप्रति उदासीन देखिनुले प्रतिपक्षलाई आक्रामक बन्ने ठाउँ दिएको छ। जब सत्ता संवादबाट भाग्छ, प्रतिरोध झन् चर्किन्छ। त्यसैले अहिलेको विवादलाई  हर्क साम्पाङको व्यवहारमा सीमित गरेर हेर्न मिल्दैन। यो वर्तमान राजनीतिक संस्कृतिको सामूहिक संकट पनि हो।

तर यही सन्दर्भमा एउटा महत्वपूर्ण अन्तर बुझ्न जरुरी छ—आन्दोलन र राजनीतिबीचको अन्तर। आन्दोलनकारीले भीडलाई उत्तेजित पार्न सक्छ, तत्काल जनसमर्थन बटुल्न सक्छ। तर राजनीतिज्ञले संस्थालाई बलियो बनाउनुपर्छ, संवादको बाटो खोज्नुपर्छ र असहमतिको मर्यादित अभिव्यक्ति दिनुपर्छ। हर्क साम्पाङ अहिले पनि पहिलो भूमिकामै सीमित देखिन्छन्। उनी प्रयोगवादी अभियन्ता त बने, तर परिपक्व राजनीतिक व्यक्तित्वको रूपमा निर्माण हुन सकेका छैनन् भन्ने टिप्पणी त्यसैले स्वाभाविक सुनिन्छ।

नेपालको बदलिँदो संसद्ले नयाँ पुस्ताका नेताहरूलाई अवसर दिएको छ। सामाजिक सञ्जालको लोकप्रियता अब संसद्सम्म पुगेको छ। तर संसद् 'भाइरल राजनीति' गर्ने  फोरम होइन। त्यहाँ धैर्य, नीति, तर्क र मर्यादाको परीक्षा हुन्छ। यदि हर्क साम्पाङले आफ्नो आक्रोशलाई वैचारिक उचाइमा रूपान्तरण गर्न सके भने उनी प्रभावशाली प्रतिपक्षी नेताको रूपमा स्थापित हुन सक्छन्। अन्यथा निरन्तरको उत्तेजना, अडान र अमर्यादित शैलीले उनी क्षणिक चर्चाका पात्र त बन्नेछन्, तर दीर्घकालीन राजनीतिक नेतृत्वको उचाइमा पुग्न कठिन हुनेछ।

आज नेपाली जनताले हर्क साम्पाङलाई नजिकबाट हेरिरहेका छन्। प्रश्न  उनले सरकारलाई कति चर्को स्वरमा चुनौती दिए भन्ने होइन, उनले लोकतान्त्रिक संस्कृतिलाई कति परिपक्व बनाए भन्ने पनि हो।