देवेन्द्र किशोर:   नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक शक्ति नेपाली कांग्रेस अहिले फेरि एकपटक आन्तरिक शक्ति-संघर्ष, अविश्वास र नेतृत्वगत टकरावको गम्भीर मोडमा उभिएको देखिन्छ। बाहिरबाट हेर्दा पार्टीभित्र संवाद, समन्वय र एकताको प्रयास भइरहेजस्तो देखिएता पनि भित्री रूपमा भने असन्तुष्टि, प्रतिशोध र गुटगत ध्रुवीकरणको आगो भुसभित्र सल्किरहेको अवस्थाको चित्र पछिल्ला घटनाक्रमले प्रस्तुत गरेका छन्।

विशेष महाधिवेशनपछि उत्पन्न शक्ति-सन्तुलन, केन्द्रीय समितिमा गरिएको मनोनयन, संस्थापन र इतर समूहबीचको अविश्वास तथा नेताहरूको सार्वजनिक अभिव्यक्तिले कांग्रेसभित्रको संकट  संगठनात्मक मतभेद मात्र नभई अस्तित्वगत चुनौतीका रूपमा विकसित हुँदै गएको संकेत गरेको छ।

विशेषगरी सभापति गगन कुमार थापा नेतृत्वको शैलीमाथि अहिले इतर समूहबाट गम्भीर प्रश्न उठिरहेका छन्। उनीमाथि “एकता” को नाममा पुराना र नयाँ नेताबीच कित्ताकाटको राजनीति गरिरहेको आरोप लगाइएको छ। संस्थापन इतर पक्षको बुझाइमा अहिलेको नेतृत्वले सहमतिभन्दा नियन्त्रण, समेटनभन्दा शक्ति-सञ्चय र संगठनभन्दा गुटगत मजबुतीलाई प्राथमिकता दिइरहेको छ। यही कारण कांग्रेसभित्र प्रतिशोधको राजनीति मौलाउँदै गएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।

कांग्रेसको इतिहास हेर्दा यो पार्टी अनेकौँ विभाजन, पुनर्मिलन र वैचारिक संघर्षबाट गुज्रिएको शक्ति हो। तर हरेक संकटको समयमा पार्टीलाई जोगाउने काम नेतृत्वको राजनीतिक लचकताले गरेको थियो। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा बीचको सम्बन्ध यसको महत्त्वपूर्ण कडी मानिन्छ।

तीव्र राजनीतिक प्रतिस्पर्धा र व्यक्तिगत कटुताका बीच पनि गिरिजाप्रसादले पार्टी एकतालाई सर्वोच्च प्राथमिकता दिएका थिए। देउवाले पनि अन्ततः व्यक्तिगत शक्ति-संघर्षभन्दा पार्टीको निरन्तरतामा जोड दिएका थिए। त्यसैले विभाजन  भएको कांग्रेस पुनः एकताबद्ध हुन सफल भयो।

आजको कांग्रेसमा भने त्यस्तो लचकता क्रमशः हराउँदै गएको आरोप छ। अहिलेको पुस्तामा वैचारिक सहिष्णुता कमजोर बन्दै गएको र नेतृत्वमा अहंकार तथा दम्भ बढ्दै गएको टिप्पणी स्वयं कांग्रेस वृत्तभित्र सुनिन थालेको छ।

सुदूरपश्चिम भेलामा नेता रमेश लेखक ले गगन थापालाई गिरिजा–देउवाको उदाहरण स्मरण गराउँदै “हदैसम्म लचक हुनुपर्ने” सन्देश दिनु केवल औपचारिक टिप्पणी थिएन, त्यो कांग्रेसभित्र बढ्दो तनावको राजनीतिक संकेत थियो। विशेषगरी देउवा पक्षको योगदानलाई सम्मान गर्नुपर्ने उनको भनाइले पार्टीभित्र पुरानो पुस्तालाई क्रमशः किनारामा धकेल्ने प्रयास भइरहेको बुझाइले पार्टी बिभाजनलाई थप पुष्टि गरेको देखिन्छ।

यता इतर पक्षका युवा नेताहरूले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनलाई “नियोजित” र “प्रायोजित” भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गर्नुले संकट झन् गहिरिएको संकेत गरेको छ। यसले कांग्रेसभित्र अब वैचारिक बहसभन्दा बढी भावनात्मक विद्रोहको अवस्था पैदा भइरहेको देखिन्छ।

राजनीतिक रूपमा हेर्दा अहिले कांग्रेस तीन तहको संकटबाट गुज्रिरहेको छ।

पहिलो, नेतृत्वगत संकटl 

दोस्रो, संगठनात्मक वैधताको संकट।

तेस्रो, पुस्तान्तरणको असन्तुलित व्यवस्थापन।

सभापति गगन थापाले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि र परिवर्तनकारी नेतृत्वका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्। तर उनको नेतृत्वशैलीमाथि 'समावेशीभन्दा नियन्त्रणमुखी' भएको आरोप छ। विशेषगरी केन्द्रीय समितिमा गरिएका मनोनयनलाई इतर समूह कमजोर बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।

शेखर कोइराला समूह अहिले प्रत्यक्ष विद्रोहमा नदेखिए पनि पूर्ण सन्तुष्ट छैन भन्ने स्पष्ट संकेत देखिन्छ। शेखर पक्षभित्र पनि दुई धार विकसित भएको देखिन्छ—एक पक्ष अझै पार्टीभित्रै सम्मानजनक शक्ति-सन्तुलन खोज्न चाहन्छ भने अर्को पक्ष 'अब कांग्रेस एउटै ढिक्का रहन कठिन छ' भन्ने निष्कर्षतर्फ  बग्न थालेको विश्लेषण भइरहेको छ।

यही अवस्थाले कांग्रेसभित्र समानान्तर गतिविधि बढाइरहेको छ। जिल्ला तहदेखि प्रदेशसम्म अलग भेलाहरू आयोजना हुनु, छुट्टै संरचनाको बहस उठ्नु तथा नेतृत्वमाथि सार्वजनिक प्रश्न उठ्नुले भविष्यमा संगठनात्मक टकराव अझै बढ्न सक्ने सङ्केत दिएको छ।

तर कांग्रेसको संकट केवल व्यक्तिको टकराव मात्र होइन, यो पार्टीको वैचारिक दिशासँग पनि जोडिएको छ। एकातिर पुरानो पुस्ताले कांग्रेसलाई आन्दोलन, त्याग र लोकतान्त्रिक संघर्षको विरासत बोकेको संस्था ठान्छ। अर्कोतर्फ नयाँ पुस्ता पार्टीलाई आधुनिक, चुस्त र नयाँ राजनीतिक शैलीमा रूपान्तरण गर्न चाहन्छ। समस्या के हो भने यी दुई धारबीच समन्वय निर्माण गर्ने राजनीतिक संयन्त्र कमजोर बन्दै गएको छ।

अहिलेको नेतृत्वले पुराना नेताहरूलाई सम्मानपूर्वक व्यवस्थापन गर्न नसकेको र पुरानो पुस्ताले पनि नयाँ नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको अवस्था नै पार्टी बिभाजनक़ो मुख्य कारण हो । यही अन्तरविरोधले कांग्रेसलाई भित्रभित्रै कमजोर बनाइरहेको छ।

रणनीतिक रूपमा हेर्दा कांग्रेस अहिले अत्यन्त संवेदनशील अबस्थामा छ। यदि नेतृत्वले सहमति, संवाद र शक्ति-सन्तुलनको बाटो रोजेन भने पार्टी पुनः विभाजनतर्फ धकेलिन सक्छ। यद्यपि तत्काल औपचारिक विभाजन हुने सम्भावना कम देखिए पनि 'समानान्तर कांग्रेस' जस्तो मानसिक अवस्था भने विकसित भइसकेको छ।

यसको सबैभन्दा ठूलो असर आगामी निर्वाचनमा पर्न सक्छ। गुटगत अविश्वास र आन्तरिक असन्तुष्टि बढ्दै जाँदा संगठन कमजोर हुने, कार्यकर्ता निराश हुने तथा मतदाता भ्रमित हुने जोखिम बढ्छ। विगतमा पनि कांग्रेसले यस्तै आन्तरिक संघर्षकै कारण ठूलो राजनीतिक क्षति बेहोरेको घटना छ।

त्यसैले आज कांग्रेसलाई जोगाउने उपाय शक्ति प्रदर्शन होइन, राजनीतिक उदारता हो। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले कठिन अवस्थामा देखाएको लचकता अहिलेको नेतृत्वले आत्मसात् गर्न सकेन भने लोकतान्त्रिक विरासत बोकेको यो ऐतिहासिक दल दीर्घकालीन विघटन र क्षयीकरणतर्फ जान सक्ने खतरा अझै टरेको छैन।

कांग्रेसभित्र अहिलेको संघर्ष वास्तवमा नेतृत्वको होइन, राजनीतिक संस्कारको परीक्षा हो। यही परीक्षाले तय गर्नेछ—नेपाली कांग्रेस फेरि एकपटक एकताको इतिहास लेख्छ वा विभाजनको अर्को अध्यायक़ो प्रारम्भ गर्ने छ ।

भद्रपुर-८, सुकृतिनगर