जनकपुर— जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् ।
आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
उनले एक वर्ष अघि कसैले जानकी मन्दिरको नाममा र एउट आफ्नो व्यक्तिगत नामको फेक फेसबुक प्रोफाइल बनाएर आफ्नो र मन्दिरको नाम बदनाम गर्ने सामग्री तथा स्टाटसहरु पोस्ट हुँदै गरेको बताए ।
सो कुराको जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुका साथै काठमान्डौको भोटाहिटीस्थित साइबर ब्यूरो कार्यालयमै उजुरी दर्ता गराएको उनले जानकारी दिए ।
तर सात महिना भन्दा बढी बितिसक्दा पनि उक्त फेक प्रोफाइलहरु सुचारु अवस्थामै रहेको र सो फेक प्रोफाईल बनाउने पनि नसमातिएकामा छोटे महन्त दासले ब्यूरोको कामकारबाही माथि प्रश्न उठाएका छन् ।
मन्दिरको गरिमामा र आफ्नो व्यक्तिगत छवीमाथि घात पुर्याउने सामग्रीहरु पोस्ट भइरहेकाले मन्दिर र श्रद्धालुहरुको मनमा नराम्रो असर परिरहेको महन्त दासको भनाइ छ । उनले आफ्नो फेक प्रोफाइलबाट खासगरी महिलाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाइने गरेको जानकारी दिए ।
पटक पटक आफ्नो चरित्र हत्याहुने पोस्टहरु फेक प्रोफाइलबाट हुने गरेकाले आफू मानसिक तनावको सिकार भएको छोटे महन्त दासले सुनाए ।
महन्त दासले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जनतालाई त्यस्ता फेक प्रोफाइलबाट कुनै फ्रेन्ड रिक्वेस्ट आए एसेप्ट नगर्न र ब्लक तथा रिर्पोट गर्न आग्रह गरेका छन् ।
साथै उनले साइबर ब्यूरोलाई फेक प्रोफाईल ब्लक गर्न लगाई अपराधीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।






































