रामेछाप— सीमान्तकृत माझी समुदायलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा एक दिने स्वास्थ्य शिविर राखिएको हो । स्वास्थ्य परीक्षणका लागि सहज रूपमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकलाई लक्षित गरी शिविर राखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए ।
शिविरमा डा. सविता भण्डारी नेतृत्वको टोलीले स्वास्थ्य सेवा दिएको थियो । शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका थिए ।
शिविरमा नसा, हाडजोर्नीको दुखाई, ग्यास्ट्रिक, छालाको रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, महिलाजन्य रोगका बिरामी, असक्त ज्येष्ठ नागरिक लगायतको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा माझी समुदायका साथै अन्य स्थानीय गरी १७५ जनाले सेवा लिएका चिकित्सालयले जनाएको छ ।
अन्य स्थानमा पनि चिकित्सालयले यस्ता शिविर सञ्चालन गरेको भन्ने थाहा पाएको बताउँदै यो वडामा कहिला आउला भन्ने प्रतीक्षामा बसेको बताउँदै एक स्थानीयले आफूले परिवारका सबै जनालाई जँचाउन ल्याएको बताए ।
गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुँदा स्वास्थ्य परीक्षण गराउन निक्कै सहज भएको स्थानीयले बताए । उनीहरूले यस्ता शिविर नियमित आयोजना गरिदिन पनि अनुरोध गरे ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले स्थानीय तहहरूको समन्वयमा यस्ता शिविरहरू निरन्तर सञ्चालन गर्दै आएको छ । रजगाउँको शिविर खाँडादेवी गाउँपालिका—४ सँगको सहकार्यमा भएको हो ।






































