काठमाडौं— महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् ।
महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले सोमबार ललितपुरमा गरेको कार्यक्रममा वक्ताहरूले यो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नम्रता पाण्डेले बताएकी छन् ।
अन्तर धार्मिक गतिविधिहरू मार्फत विभिन्न कार्यक्रम गरेर समाजमा चलेका कुरीतिहरूको अन्त्य गर्न सकिएको उदाहरण दिँदै अब मानसिक स्वास्थ्यको लागि धर्मगुरुहरू केन्द्रित हुने योजना रहेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिए । इसाई धर्मका पास्टर रुविन पाख्रीनले धर्मका नाममा हुने कुरीतिको अन्त्य गर्दै मानव तथा परिवार कल्याणमा आफूहरूले काम गर्ने बताइन् ।
कार्यक्रममा विभिन्न धर्मका संघसंगठनका नेतृत्व वर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा, सरकारका प्रतिनिधि र सरोकारवालाबिच भएको छलफलमा मुस्लिम आयोगले सहभागिता जनाई धेरै कुरा सिकेको आयोगका कार्यवाहक अध्यक्ष महमुद्धिनी अलीले बताइन् । महिला आयोगका उपसचिव सिता अधिकारीले महिला आयोगले पनि महिला हिंसा तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अन्तर धार्मिक क्षेत्रसँग सहकार्य गर्ने बताइन् । कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्धन र महिला हिंसा अन्त्यमा सञ्चार माध्यम र सामाजिक सञ्जालको पनि क्षमता विकास गर्न आवश्यक रहेको बताइन् ।
समाज कल्याण परिषद्का निर्देशक भगवती सङ्ग्रौलाले परिषद् सधैँ यस्ता समाज कल्याण र मानसिक कल्याणको गतिविधि गर्ने संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको बताइन् । मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक रहेको सीआईएनका व्यवस्थापक दीपक आचार्यले बताए ।






































