काठमाडौं— सरकारले देशका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि आवेदन खुलाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिबाट दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपकुलपति पद खाली रहेको छ ।

मन्त्रालयले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । सोही कार्यविधिअनुसार गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवार छनोट गर्नेछ ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले योग्यता, आवश्यक कागजात र आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी पनि वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।

image-181