हुम्ला— वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।

सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।

हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।

उनका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् । प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन् । उनीहरु मध्ये २३ जनाको कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको छ ।

गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् । मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन सुरु भएको चार दिनको सङ्ख्या हेर्दा सो सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।