काठमाडौं— विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आयोजना गरेको गीतामैत्री मिलन कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।
आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा करिब २ हजारभन्दा बढी प्रत्यक्ष सहभागी तथा देश–विदेशमा रहेका लाखौँ साधकहरूको अप्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा गर्दै प्रज्ञा भवनसम्म पुगेको थियो ।
कार्यक्रममा गीता परिवारका संस्थापक तथा श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास, अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेव गिरीले गीता केवल पुस्तक नभई ‘जीवन मार्गदर्शक आमा’ भएको बताउँदै कठिन परिस्थितिमा गीता स्मरणले जीवन सहज बनाउने धारणा व्यक्त गरे ।
उनले नेपालमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आध्यात्मिक चेतना फैलाउन गीता परिवारको योगदानको प्रशंसा गरे ।
कार्यक्रमका मूल समारोह समितिका अध्यक्ष जय किसन सारडाले गीता परिवारको ४० वर्षे यात्राबारे जानकारी दिँदै संस्था विश्वका १८२ देशसम्म फैलिएको उल्लेख गरे।
नेपालमा गीता परिवारले आफ्नो स्थापना पछिको छैटौँ वर्ष पार गरेको र विशेषगरी कोरोना महामारीपछि अभियान अझ सक्रिय बनेको उनको भनाइ थियो । वक्ताहरूले नेपालको भौगोलिक चुनौती, इन्टरनेट पहुँचको समस्या भए पनि गाउँ–बस्तीसम्म गीता चेतना विस्तार गर्ने लक्ष्यमा निरन्तर काम भइरहेको बताए ।






































